काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र बाँकी रहेकाले अब मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली (बादल) रहेको छ भने बाँकी भागमा आंशिक बदली रहेको छ। अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा मात्रै हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति पनि देशभर आंशिक बदलीकै स्थिति रहनेछ । रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको अनुमान छ । मौसम सुधार हुँदै गएसँगै बिहानीपख तराई, उपत्यका तथा खोँचहरूमा केही स्थानमा हुस्सु लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाएका छन् ।
