काठमाडौं । सञ्चारगृहमाथि गरिएको धरपकड, पत्रकारहरूको गैरकानुनी गिरफ्तारी र न्युजरूममा बढेको राज्यतन्त्रको हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघर मण्डलामा पत्रकारहरूको विरोध प्रदर्शन सुरु भएको छ ।
अविरल वर्षा र खराब मौसमको पर्वाह नगरी राजधानीका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू, सम्पादकहरू तथा सञ्चारकर्मीहरू माइतीघरमा एकजुट भएका छन् । प्रदर्शनमा उपस्थित सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता हनन गर्ने सरकारी रवैयाविरुद्ध नाराबाजी गर्दै प्रेसमाथिको अङ्कुश अनैतिक र अलोकतान्त्रिक भएको बताएका छन् ।
प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतका वक्ताहरूले लोकतन्त्रको पहरेदार मानिने प्रेस जगतलाई नियन्त्रण गर्ने र तर्साउने उद्देश्यले राज्यले दमनकारी नीति अपनाएको आरोप लगाए । उनीहरूले पक्राउ परेका पत्रकारहरूको तत्काल रिहाइ, न्युजरूममा हुने प्रहरी हस्तक्षेपको अन्त्य र स्वतन्त्र पत्रकारिताको सुरक्षाको माग गरेका छन् ।
