विराटनगर । मोरङको रतुवामाईस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । राति साढे ९ बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भएको उक्त कारबाहीका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने घरेलु पेस्तोल र करिब आधा किलो खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको गोली लागेर भारत अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् ।
दुवैको घुँडामुनि गोली लागेको छ र हाल कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिआर ३७ भि ३९२६ नम्बरको भारतीय मोटर साइकल र अर्को नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई रोक्न खोजेको थियो।
उनीहरू भाग्न खोजेपछि प्रहरीले चाइनिज पेस्तोलबाट ५ राउन्ड र ब्रेडा पेस्तोलबाट ३ राउन्ड गरी कुल ८ राउन्ड गोली प्रहार गरेको डिएसपी मिश्रले बताए ।
पक्राउ परेकाहरूको साथबाट ५०० ग्राम (आधा किलो) खैरो हेरोइन, एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली र मोटरसाइकल बरामद गरिएको छ । यो समूहले लामो समयदेखि सीमापार लागुऔषधको अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
