काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज (बिहीबार) हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी तथा सदस्यहरूका लागि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शपथ ग्रहण कार्यक्रम आयोजना गर्न लागेको हो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज दिउँसो ठीक २ बजे शपथ ग्रहण समारोह आयोजना गरिएको छ । महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहणका लागि तोकिएको समयमा सानेपा पुग्न निर्वाचन समितिले निर्देशन दिएको छ ।
यसअघि नवनिर्वाचित सभापति गगन कुमार थापाले भने बडादसैँको फूलपातीका दिन (असोज ३१ गते) नै पद तथा गोपनीयता को शपथ लिई पदबहाली गरिसकेका छन्।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमिति कुल २९७ सदस्यीय रहने व्यवस्था छ । विधानमा रहेको प्रावधान अनुसार बाँकी ६६ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रम लगत्तै बस्ने केन्द्रीय समितिको बैठकमा बाँकी सदस्यहरूको मनोनयन तथा आगामी सांगठनिक कार्यदिशाका विषयमा छलफल हुने तयारी छ ।
