काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न थालेको छ । यस चक्रवातको असरस्वरूप आज (बिहीबार) देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिम–मध्य बङ्गालको खाडीमा बनेको यो प्रणाली भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गरिसकेको छ र क्रमशः कमजोर हुँदै ‘डिप डिप्रेसन’ मा परिणत हुने क्रममा रहेको छ। यसको अप्रत्यक्ष घेरा र बाष्पयुक्त वायु नेपालसम्म आइपुगेका कारण मौसम पूर्णतया प्रतिकूल बन्ने देखिएको हो ।
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ । विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको अनुमान गरिएको छ ।
यस्तै, मधेश प्रदेशलगायत कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। आज रातिको समयमा भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य उच्च हिमाली क्षेत्रका अधिकांश भागमा बाक्लो बादल लाग्नेछ र देशका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको क्रम अझ बढ्नेछ।
मौसममा आएको यो अचानकको फेरबदलसँगै आगामी शनिबारसम्म देशका अधिकांश क्षेत्रमा प्रतिकूल मौसम कायम रहने हुनाले सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। पाक्न लागेको धानबाली भित्र्याउने बेला भएकाले शनिबारसम्म कुनै पनि कृषि कार्य तथा बाली काट्ने काम नगर्न मौसम पूर्वानुमान महाशाखाले किसानहरूलाई अनुरोध गरेको छ ।
यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पर्यटक तथा पर्वतारोहियोंलाई सुरक्षित स्थानमा रहन र तोकिएको समयसम्म उच्च हिमाली मार्गमा यात्रा नगर्न सचेत गराइएको छ ।
चक्रवातको प्रभावले चिसो अत्यधिक बढ्ने, पहिरो जान सक्ने तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन र पूर्वतयारी अपनाउन प्राधिकरणले जोड दिएको छ ।
