त्रिलोकी पटेल
वीरगञ्ज, १९ असोज
लामो समयदेखि मुआब्जा तथा जग्गा अधिग्रहणसम्बन्धी माग सम्बोधन नभएको भन्दै वीरगञ्जमा स्थानीय बासिन्दाहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । संघर्ष समितिका अध्यक्ष अशोक चौधरीको नेतृत्वमा रहेको समितिले माग पूरा नभए ड्राइपोर्ट (सुक्खा बन्दरगाह) अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ ।
संघर्ष समितिका अध्यक्ष चौधरीले विभिन्न चरणमा सम्बन्धित निकायसँग भएका सहमति र छलफल कार्यान्वयन नभएको आरोप लगाए । घर तथा जग्गाको मुआब्जा लगायतका विषयमा पटकपटक छलफल भए पनि सम्बन्धित पक्षले अधिकार नभएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको उनको भनाइ छ ।
समितिले माग पूरा गर्न वीरगन्जका सहायक सीडीयोलाई विज्ञप्तिसमेत बुझाएको थियो । सहायक सीडीयोले यसबारेमा पहल गर्न १८ गतेसम्मको समय मागेका थिए । तोकेको समयसीमा अनुसार हिजो १८ गतेसम्म माग सम्बोधन नभएछि आज १९ गतेदेखि ड्राइपोर्ट पूर्ण रूपमा बन्द गरी मुख्य गेटमा धर्ना दिइएको समितिले जनाएको छ ।

माग पूर्ण रूपमा सम्बोधन नभएसम्म आन्दोलन र अनिश्चितकालीन ड्राइपोर्ट बन्दको कार्यक्रम जारी रहने संघर्ष समितिले स्पष्ट पारेको छ ।
यसैबीच, वीरगञ्ज महानगरपालिका क्षेत्रमा जग्गा अधिग्रहणको विरोधमा स्थानीय बासिन्दाहरूले धर्ना प्रदर्शन गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नं. २५ की पूर्व कार्यपालिका सदस्य बैजन्ती माला चौधरीको नेतृत्वमा स्थानीय बासिन्दाहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी स्थानीयका अनुसार वि.सं. २०७२ सालमा ६४ बिघा जग्गा अधिग्रहण गरिए पनि हालसम्म त्यसको चित्तबुझ्दो क्षतिपूर्ति तथा ठोस निर्णय हुन सकेको छैन। पटकपटक वार्ता र आश्वासन दिइए पनि सरकारले समस्या समाधान नगरेको उनीहरूको आरोप छ।
स्थानीय बासिन्दाहरूले आफूहरूको माग तत्काल सम्बोधन गरी उचित निर्णय नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले जग्गा अधिग्रहणबाट प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
