काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ सुरु गरेको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्न माग गर्दै सन्दीपले गरेको पुनरावेदन न्यायाधीशद्वय सुदर्शनदेव भट्ट अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ थालिएको हो ।
यसअघि पाँचपटक पेसी तोकेर पनि सुनुवाइ हुन नसकेको सो मुद्दा आज पेसी सूचीको पहिलो नम्बरमै परेको हो । गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।
उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ । अदालतले दुवै पुनरावेदनलाई सँगै राखेर एकसाथ सुनुवाइ थालेको हो ।



