काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देखि देशभरका वडा स्तरमा अधिवेशन औपचारिक रूपमा सुरु भएको छ ।
अधिवेशन प्रारम्भ भएको अवसरमा पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले एक विशेष अपिल जारी गर्दै देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
झन्डै आठ दशक लामो ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसका लागि यो महाधिवेशन विशेष र दूरगामी महत्त्वको रहने देउवाले उल्लेख गरेका छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनार्थ पार्टीले गरेको बलिदान, त्याग र सङ्घर्षलाई थप संस्थागत र मजबुत बनाउन १५औँ महाधिवेशनले निर्णायक भूमिका खेल्ने उनले बताएका छन् ।
जारी अपिलमा पूर्वसभापति देउवाले भनेका छन्, “म तमाम नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा उत्साहजनक रूपमा सहभागी भएर भव्यताका साथ सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु।”
यसैगरी, पार्टीभित्र विद्यमान आन्तरिक मतभिन्नता र वैचारिक असमझदारीहरूलाई १५औँ महाधिवेशनको आन्तरिक लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाइका साथ थप सुदृढ, सशक्त र एकढिक्का बनाउने सङ्कल्पसमेत देउवाले व्यक्त गरेका छन् ।
