काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका अग्रज नेता प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । स्याङ्जा कांग्रेसका पूर्वसभापति एवं पूर्व सांसद पनि हुन् ।
झण्डै २ वर्षअघिदेखि उपचारमा रहेका रेग्मीको मंगलबार बिहान ५ बजे आफ्नै घर भीरकोट नगरपालिका ७ गेझवासमा निधन भएको हो । कांग्रेसका ३ पटक सभापति र राष्ट्रिय सभा सदस्य भएर स्याङ्जा र मुलुकका लागि योगदान पुर्याएका छन् ।
जिब्रोको क्यान्सर उपचार गराइरहेका उनी एक साताअघि घर फर्केका थिए । भरतपुर र काठमाडौंमा उपचारपछि चिकित्सकको सल्लाह र उनको ईच्छाबमोजिम घर फर्केका हुन् । लामो समय शिक्षण पेसामा आबद्ध रेग्मी राजनीतिमा पनि उत्तिकै क्रियाशील रहे। जसका कारण उनका हजारौं चेला छन् । लोकप्रिय नेताका रुपमा पहिचान बनाएका छन् ।
राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई २०१७ पुस १ गते अपदस्थ गरेपछि रेग्मी राजनीतितर्फ आकर्षित भए । वीपीसँगै निर्वासनमा बसेर काम गरे । स्याङ्जालाई कांग्रेसमय बनाउने अभियानमा उनी निरन्तर क्रियाशील रहे । गाउँगाउँमा पुगेर संगठन बिस्तार र बलियो बनाउने अभियानमा अहोरात्र खटिने गरेको उनका सहयात्री श्रीप्रसाद घर्ती भन्छन् ।
सशस्त्र द्वन्द्वका बेला उनलाई माओवादीले गोली हानी घाइते बनाएका थिए । २०५८ माघ महिनामा उनीमाथि माओवादीले गोली हाने र घाइते बनाए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि होमिएकै कारण उनले पटकपटक जेल जीवन बिताएका छन् ।
उनका पिता देवीप्रसाद माता नोनाकुमारी हुन् । आमा नोनाकुमारीबाट जन्मेका १३ सन्तानमध्ये उनी तेस्रो सन्तान हुन् । उनी किसान परिवारमा वि।स। २००६ साल साउन १५ गते नागपञ्चमीका राती जन्मेका हुन् ।
आफ्नो राजनीतिक एवं सामाजिक यात्रालाई समेट्दै उनले ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ पुस्तक सम्पादन एवं प्रकाशन गरेका छन् । अन्तिम श्रद्धाञ्जलिका लागि शव बिहान ११ बजे पार्टी कार्यालय स्याङ्जामा राखिने जिल्ला सभापति राजु थापाले जानकारी दिए ।
