९ असोज,वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित हुने ‘देश मधेश’ साप्ताहिक पत्रिकाको शुक्रबार एक समारोहबीच विमोचन गरिएको छ। गहवामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेद्वारा मन्त्रपाठ तथा पूजापाठ गरी पत्रिकाको विमोचन कार्यक्रम शुभारम्भ गरिएको थियो।
पत्रिकाका प्रकाशक अभिलाश गुप्ताको अध्यक्षतामा आयोजित समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले ‘देश मधेश’ साप्ताहिकको औपचारिक विमोचन गरेका थिए।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य अजय साह, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल र उपाध्यक्ष वीरेन्द्र साह ले बिमोचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले देशको आर्थिक नगरी वीरगञ्जबाट प्रकाशन सुरु गरेको ‘देश मधेश’ साप्ताहिकको सफलताको शुभकामना व्यक्त गरे। उनले गहवामाई मन्दिर परिसरजस्तो पवित्र धार्मिक स्थलबाट पत्रिकाको विमोचन गरिनु सकारात्मक र प्रेरणादायी कार्य भएको बताए।
“होटलमा तडकभडकका साथ गरिने विमोचनभन्दा पवित्र मन्दिर परिसरबाट पत्रिकाको शुभारम्भ गर्नु ऐतिहासिक र प्रेरणादायी कार्य हो,” चौधरीले भने। उनले देश र समाजको विकासका लागि पत्रिकाले निरन्तर कलम चलाउने तथा समाजमा देखिएका विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउने विश्वास व्यक्त गरे।
वीरगञ्जका क्रियाशील पत्रकारहरूको टिमले सञ्चालनमा ल्याएको पत्रिकाले पाठकको मन जित्दै सत्य–तथ्य समाचार सम्प्रेषणमार्फत समाजलाई सुसूचित गर्ने उनले बताए।
त्यसैगरी नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाईले युवा पत्रकारहरूको सक्रियतामा प्रकाशनमा आएको ‘देश मधेश’ साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गरे। उनले पत्रिकाले आवाजविहीनहरूको आवाज बनेर पाठकको विश्वास जित्ने अपेक्षा व्यक्त गरे।
पण्डित पुरुषोत्तम दुबेले अनन्त चतुर्दशीको अवसरमा शुभारम्भ गरिएको पत्रिकाले देश र समाजको पक्षमा निरन्तर कलम चलाउने विश्वास व्यक्त गरे। शुभ दिनमा विमोचन गरिएको पत्रिकाले पत्रकारिताको क्षेत्रमा छुट्टै छाप छोड्ने उनले बताए।
कार्यक्रममा युवा अनिल पटेल, पत्रकार राकेश कुमार साह, सन्तोष कुशवाहा, आकाश राजभण्डारी, ओमप्रकाश सर्राफ, समाजसेवी धीरज साहलगायतको उपस्थिति थियो।
