काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव खतरनाक किसिमले बढेको छ । नदीमा जलसतह अत्यधिक रूपमा बढेपछि कोशी ब्यारेजका कुल ढोकाहरूमध्ये ३१ वटा ढोका खोलेर पानीको निकास गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो २ः१५ बजेसम्म चतरामा सप्तकोशीको बहाव २ लाख ४० हजार ५५५ क्युसेक पुगेको मापन गरिएको छ, जुन अत्यन्तै उच्च खतराको संकेत हो ।
चतरा क्षेत्रमा पानीको सतह अझै बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदीका तल्लो तटीय क्षेत्र तथा बाढीको उच्च जोखिममा रहेका डुबान क्षेत्रका बासिन्दाहरूलाई अति उच्च सतर्कता अपनाउन गम्भीर आग्रह गरेको छ ।
कोशी परियोजनाले जनाए अनुसार नेपालतर्फ पानीको बहाव नियन्त्रण गर्न जति धेरै ढोका खोलिन्छ, त्यसको प्रत्यक्ष दबाब र बाढीको जोखिम भारतको बिहार क्षेत्रतर्फ थप बढ्दै गएको छ ।
