काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका धेरैजसो भूभागमा बिहीबार र शुक्रबार राति मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गर्दै बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।
मौसम विभागको चेतावनीपछि प्रधानमन्त्री बालेन्द्र शाह, मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न अपिल गरेका छन् ।
विभागका अनुसार बिहीबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुनेछ भने मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा हावाहुरीको समेत जोखिम छ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार ६ वटा मौसम मोडलका आधारमा बागमतीदेखि लुम्बिनी प्रदेशसम्म २५० मिलिमिटरभन्दा बढी र देशका अन्य धेरैजसो भागमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । पाल्पा, कास्की, पर्वत, अर्घाखाँची, म्याग्दी, नवलपरासी पूर्व र पश्चिम, लमजुङ, रूपन्देही तथा मनाङमा वर्षाको प्रभाव बढी देखिनेछ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारी तीव्र बनाएको छ । प्राधिकरणका भूगर्भविद् डा। प्रकाश पोखरेलले मनसुनका कारण पहिले नै जमिन कमजोर भइसकेकाले नयाँ सडक खनेको क्षेत्र, ठाडो खोल्सा र चट्टानविहीन माटो भएका स्थानमा पहिरोको थप जोखिम रहने स्पष्ट पारे। अवरुद्ध हुन सक्ने राजमार्गहरूमा स्काभेटर र उद्धारका उपकरणहरू तयारी अवस्थामा राख्न निर्देशन दिइसकिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक अपिल जारी गर्दै सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि नागरिकहरूलाई स्थानीय प्रशासन र मौसम विभागका सूचनाहरू नियमित हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र विपद्को समयमा सरकारी निर्देशन पालना गर्न उनले आह्वान गरेका छन् ।
मौसम खराब रहने भएकाले वायुसेवा सञ्चालन सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्रै उडान भर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ भने विपद् उद्धारका लागि हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन् ।
हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले ट्रेकिङ तथा पर्वतारोहणका कार्यक्रमहरू स्थगित गर्न र रातिको समयमा राजमार्गमा यात्रा नगर्न सरकारले अनुरोध गरेको छ ।
