वीरगञ्ज । वीरगञ्ज-पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलिप चौधरी रहेका छन् ।
बारा प्रहरीका अनुसार मंगलबार राति साढे ८ बजेको समयमा ना ३ ख ५६१० नम्बरको ग्यास बोकेको ट्रकले ना ४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकलमा सवार उपाध्याय र चौधरी दुवै जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनालगत्तै उद्धार गरी घाइते दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
