काठमाडौं । भोलि पर्ने हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिरका चारै, वटा ढोकाहरू बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले ब्रतालु महिला तथा दर्शनार्थीहरूको अत्यधिक भिडभाडलाई ध्यानमा राख्दै विशेष पूजाआजा र सहज दर्शनको सम्पूर्ण प्रबन्ध मिलाएको छ ।
मन्दिर बाहिर ५ वटा र परिसरभित्र प्रवेश गरेपछि ८ वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने महिला दर्शनार्थीहरूको सुरक्षा र सहजताका लागि बढीभन्दा बढी महिला सुरक्षाकर्मी परिचालन गर्न सरकारसँग अनुरोध गरिएको छ ।
यसैगरी, पर्वको अवसरमा सहज यातायात तथा पार्किङ व्यवस्थापनका लागि पनि विशेष तयारी गरिएको छ । विशिष्ट व्यक्ति हरूको सवारी साधनलाई कोषको कार्यालय परिसरभित्र पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने अन्य साधारण सवारी साधन हरूका लागि भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्ड क्षेत्रमा छुट्टाछुट्टै पार्किङ स्थलहरू तोकिएका छन् ।
