वीरगञ्ज । वीरगञ्जको क्लार्क रिसोर्टस्थित क्यासिनोबाट पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल निलम्बनमा परेपछि उनको स्थानमा प्रहरी निरीक्षक भानुभक्त अर्याललाई पठाइएको छ।
प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवा गरी अर्याललाई इलाका प्रहरी कार्यालय पोखरियामा पठाएको हो। अर्यालले बिहीबारदेखि पोखरियास्थित इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका छन्।
वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित क्यासिनोमा गत भदौ २० गते राति पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले आफैं छापा हानेका थिए। सो क्रममा क्यासिनोभित्रबाट प्रहरी निरीक्षक पौडेलसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको तथा जुवा खेलेको आरोपमा पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सबै अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन्।
क्यासिनोबाटै पक्राउ परेका प्रहरी निरीक्षक पौडेलमाथि विभागीय कारबाही अघि बढाउँदै निलम्बन गरिएको हो। उनको निलम्बनपछि रिक्त भएको पोखरिया इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न प्रहरी प्रधान कार्यालयले अर्याललाई काजमा पठाएको हो।
