बारा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि बाराको कलैया उपमहानगरपालिकाले ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको लेदोसहितको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा ठुलो जनधनको क्षति पुर्याएपछि उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले भदौ २४ गतेको निर्णयमार्फत सहयोग रकमबारे औपचारिक जानकारी गराएको हो ।
नगर प्रमुख बिनोद प्रसाद साहद्वारा जारी विज्ञप्ति अनुसार सहयोग रकम उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र नगर विपद् कोषको संयुक्त योगदानबाट जुटाइएको हो ।
रकम सङ्कलनका क्रममा उपमहानगरपालिका मातहतका सम्पूर्ण प्रशासनिक कर्मचारी, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षकरकर्मचारीहरूको तहअनुसार १ देखि १० दिनसम्मको सेवा सुविधा कटौती गरी ५३ लाख ६२ हजार १ सय ५ रुपैयाँ सङ्कलन गरिएको छ ।
त्यसैगरी, नगरका जनप्रतिनिधिहरूका तर्फबाट १५ दिन बराबरको सेवा सुविधा बापत ८ लाख ४ हजार ५ सय रुपैयाँ र बाँकी १६ लाख ११ हजार १ सय ७१ रुपैयाँ नगर विपद् कोषबाट थप गरी कुल ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुर्याइएको हो ।
विपद्को यस कठिन घडीमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै उपमहानगरपालिकाले राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा निरन्तर सहकार्य र सहयोगका लागि सम्बन्धित सबै पक्षसँग अपिलसमेत गरेको छ ।
