काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ११३औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाका लागि आजीवन सङ्घर्षरत कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो ।
जहानियाँ राणा शासनविरुद्धको आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका बिपीकै नेतृत्वमा २००३ सालमा ‘नेपाली राष्ट्रिय कांग्रेस’को स्थापना भएको थियो । पछि सुवर्णशम्शेर नेतृत्वको ‘नेपाल प्रजातन्त्र कांग्रेस’सँगको एकतापछि गठित नेपाली कांग्रेसको नेतृत्व गर्दै उनले २००७ सालको ऐतिहासिक क्रान्ति सफल पारेका थिए ।
विसं २०१५ को पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत हासिल गरेपछि बिपी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । आफ्नो संक्षिप्त प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार जस्ता प्रगतिशील कार्यक्रम लागू गराए ।
विसं २०१७ पुस १ गते शाही कदममार्फत जननिर्वाचित सरकार अपदस्त गरिएपछि बिपीलाई सुन्दरीजल बन्दीगृहमा राखियो । २०२५ सालमा जेलमुक्त भई भारत निर्वासनमा पुगेका कोइरालाले राष्ट्रियता कमजोर भएको विश्लेषण गर्दै आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति लिई स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति नेपाली राजनीतिमा आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।
राजनीतिज्ञका साथै बिपी नेपाली वाङ्मयका अमूल्य नक्षत्र हुन् । उनका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास र ‘श्वेत भैरवी’, ‘दोषी चश्मा’ जस्ता कथा सङ्ग्रह चर्चित छन् । साथै, उनका ‘आत्मवृत्तान्त’, ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ले तत्कालीन नेपाली राजनीति र समाजको जीवन्त चित्रण गरेका छन् ।
प्रथम जननिर्वाचित सरकारलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते ‘बिपी सङ्ग्रहालय’का रूपमा रूपान्तरण गरिएको छ । सङ्ग्रहालयमा २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर र २०३० सालमा क्रान्तिका लागि खर्च जुटाउन अपहरण गरिएको नेपाल वायु सेवा निगमको विमानसमेत प्रदर्शनीमा राखिएको छ ।
जयन्तीका अवसरमा नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालय समितिले आज देशैभर विचार गोष्ठी, विचार मन्थन तथा साहित्य सम्मेलनहरूसहित विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
