सिरहा । सशस्त्र प्रहरीले सिरहाको सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४, इट्टाटारस्थित नेपाल-भारत सीमा इलाकाबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १:३५ बजे नियन्त्रणमा लिइएको उक्त गाँजा अवैध रूपमा टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाने प्रयास भइरहेको थियो। गस्तीमा रहेको प्रहरी टोलीलाई देख्नासाथ गाँजा बोकेका व्यक्तिहरू सामान छाडेर अन्धकारको फायदा उठाउँदै फरार भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार सीमा क्षेत्रमा हुने अवैध कारोबार तथा तस्करी नियन्त्रणका लागि विशेष गस्ती तथा निगरानीलाई थप कडाइ र प्रभावकारी बनाइएको छ ।
बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । फरार तस्करहरूको खोजी कार्य तीव्र पारिएको छ ।
