काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार बाढीमा परी ज्यान गुमाएका हालसम्म ७३४ जनाको शव फेला परेको छ।
भोटेकोशीमा आएको तीव्र बहावले शवहरू बगाएर तल्लो तटीय क्षेत्रसम्म पुर्याएपछि छिमेकी तथा दक्षिणतर्फका विभिन्न जिल्लाहरूमा शव भेटिने क्रम जारी छ ।
प्राधिकरणका अनुसार बाढीको बहावसगै बगेर आएका शवहरू आठवटा जिल्लाका विभिन्न स्थानमा फेला परेका हुन्। जसमध्ये सबैभन्दा बढी चितवनमा २५९ जना र नवलपरासी पूर्वमा १८४ जनाको शव भेटिएको छ।
त्यसैगरी नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२ र धादिङमा ५० जनाको शव निकालिएको छ भने तनहुँमा ३६ र बाढीको उद्गमथलो रसुवामा १३ जनाको शव फेला परेको पुष्टि भएको छ।
प्राकृतिक विपद्को यस दुःखद घडीमा अझै २,४९८ जना नागरिक सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा सुरक्षाकर्मीदेखि निर्माणाधीन जलविद्युत् आयोजनाका श्रमिक र विदेशी पर्यटकहरूसमेत छन्।
राष्ट्रको सुरक्षामा खटिएका ८५ जना सुरक्षाकर्मी (नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना) बाढीमा परी बेपत्ता भएका छन्। यस्तै, सो क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाहरूमा कार्यरत ९३३ जना कामदारको अवस्था अझै अज्ञात रहेको छ।
यसैगरी, पदयात्रा तथा भ्रमणमा निस्किएका ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ जना नेपाली पर्यटन सहयोगी (गाइड तथा पोर्टर) हरू पनि सम्पर्कविहीन बनेका छन् । स्थानीय प्रशासनका अनुसार रसुवाबाट मात्रै ५६२ जना र नुवाकोटबाट ११५ जना नागरिक बेपत्ता भएको पुष्टि भएको छ।
