काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट ६१६ जनाको शव संकलन गरिएको हो ।
प्रहरीको तथ्याङ्कअनुसार बाढीको बहावले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा २३३ र नवलपरासी पूर्वमा १५८ जनाको फेला परेको छ । यसैगरी गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र बाढीको उद्गमस्थल रसुवामा १३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
विपद्का बिच प्रभावित क्षेत्रहरूबाट हालसम्म २ हजार ३०१ जना नागरिकको सकुशल उद्धार गरिएको छ । जसमा नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट ३ जना रहेका छन् । उद्धार गरिएका घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने बाँकी बेपत्ताहरूको खोजतलास र उद्धार कार्यलाई सुरक्षाकर्मीहरूले अझै तीव्र पारिरहेका छन् ।
