काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु भएका तथा बाढीले बगाएका मध्ये हालसम्म १४ जनाको शव फेला परेको छ । बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ वटा शव फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । नदीमा बाढीको बहाव तीव्र रहेकाले तटीय क्षेत्रमा समेत खोजी कार्यलाई प्राथमिकता दिइएको छ ।
यस्तै, बाढीमा परी घाइते भएका १९ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको डीआईजी रेग्मीले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले घर, सडक, पुल तथा विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बेपत्ता तथा प्रभावित नागरिकको खोजी र उद्धारका लागि नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरी परिचालन भएका छन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा खोजीलाई तीव्रता दिएका छन् ।
बाढीको बहाव अझै जोखिमपूर्ण रहेकाले उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीले सावधानी अपनाएर काम गरिरहेका छन् । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
