काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकामा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा छथर गाउँपालिका–२ का ४४ वर्षीय लिलमबहादुर लिम्बू रहेका छन् ।
प्रहरीका अनुसार भदौ ९ गते ती महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बूले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो । घटनाबारे जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले सोही दिन नै आरोपित लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
पीडित महिलाले इलाका प्रहरी कार्यालय वसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण (मेडिकल) गराएर प्रहरी हिरासतमा राखिएको छ। घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
