काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए । तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए ।
भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।
तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा जिल्लास्थित नेपाल प्रहरीका तीन वटा सुरक्षा निकायका कार्यालयहरूमा गम्भीर क्षति पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले सीमावर्ती क्षेत्रका कार्यालयहरूमा भौतिक क्षति पुर्याएको हो।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा ठुलो क्षति पुगेको विवरण प्राप्त भएको छ।
प्रहरी प्रधान कार्यालयले बाढीबाट भएका भौतिक क्षति तथा त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूको अवस्थाबारे विस्तृत विवरण सङ्कलन भइरहेको र थप जानकारी आउन बाँकी रहेको जनाएको छ ।
