वीरगन्ज, २ भदौ । वीरगन्जमा भारतबाट खरिद गरी ल्याइएका नम्बर प्लेटविहीन इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिने अभियानलाई प्रहरीले निरन्तरता दिएको छ।
भारतको सीमावर्ती बजार रक्सौलमा तुलनात्मक रूपमा सस्तोमा इलेक्ट्रिक स्कुटर पाइने तथा कतिपय स्कुटर चलाउन चालक अनुमतिपत्र आवश्यक नपर्ने भएकाले वीरगन्ज तथा आसपासका स्थानीयले त्यहाँबाट खरिद गरी नेपालमा प्रयोग गर्दै आएका छन्।
आवश्यक भन्सार राजस्व नतिरी यस्ता स्कुटर नेपालमा व्यापक रूपमा प्रयोग हुन थालेपछि प्रहरीले गत वैशाखदेखि नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ।
यसैक्रममा मंगलबार नेपाल प्रहरी र ट्राफिक प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट नम्बर प्लेट नभएका १२ वटा इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका १२ वटा स्कुटरको कुल मूल्य ९ लाख ६० हजार रुपैयाँ मूल्यांकन गरिएको छ। ती स्कुटरलाई आवश्यक कारबाहीका लागि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
भन्सार प्रक्रिया पूरा नगरी नेपालमा प्रयोग भइरहेका यस्ता सवारीसाधनमाथि निगरानी तथा नियन्त्रण अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रहरीले जनाएको छ।
