काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा श्रम स्वीकृति लिने पुरुषको संख्या ६० हजार ४ सय ७२ रहेको छ भने महिला ९ हजार ९ सय ६९ जना रहेका छन् । कुल श्रम स्वीकृति लिनेहरूमध्ये ४२ हजार ६ सय ९३ जना नयाँ रहेका छन् भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
यसरी विदेश जानेहरूमा म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७, व्यक्तिगत प्रयासबाट १२ हजार ४ सय ४२ र सरकार–सरकार (जीटुजी) संयन्त्रमार्फत ७ सय १२ जना रहेका छन् ।
गन्तव्य मुलुकको हिसाबले साउन महिनामा सबैभन्दा धेरै कामदार युनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन्, जहाँका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरेबियाका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
यसअघि गत असार महिनामा ६९ हजार ३ सय ०६२ जनाले श्रम स्वीकृति लिएका थिए भने गत आर्थिक वर्ष २०८२\८३ मा भने जम्मा ७ लाख ९२ हजार १ सय ८७ जना नेपालीहरू वैदेशिक रोजगारीमा गएका थिए ।
