काठमाडौं । लामो समयको स्वास्थ्य उपचार तथा विदेश बसाइपछि नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार स्वदेश फर्किँदै छन् । साढे पाँच महिनाअघि विदेशिएका देउवा पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित थाइल्यान्ड हुँदै काठमाडौँ ओर्लिन लागेका हुन् ।
कांग्रेस नेता डा। प्रकाशशरण महतका अनुसार देउवा दम्पती थाई एयरको विमानमार्फत आज दिउँसो १२स्३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । यसअघि साउन २६ गते राति फर्कने तालिका भए पनि समर्थक तथा कार्यकर्ताको स्वागतमा सहज होस् भन्नका लागि दुई दिन ढिला गरी दिउँसोको समय तय गरिएको हो ।
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै देउवा दम्पतीमाथि कुटपिट तथा आक्रमण भएको थियो। त्यसपछि नेपालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि उनीहरू सिंगापुर पुगेका थिए। उपचारपछि फर्किएका देउवा ‘फलोअप’का लागि गत फागुन १३ गते पुनः सिंगापुर प्रस्थान गरेका थिए ।
विदेशमै रहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर, वारेशमार्फत दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।
नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि र गुटगत ध्रुवीकरण उत्कर्षमा पुगेका बेला पूर्वसभापति देउवाको आगमनलाई विशेष चासोका साथ हेरिएको छ। देउवा स्वदेश फर्किनासाथ उहाँ पक्षधर नेताहरूले काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गर्दैछन् ।
पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा गठित आयोजक समितिले यही साउन २९ देखि ३१ गतेसम्म सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला तय गरेको छ । करिब साढे चार हजार प्रतिनिधि सहभागी हुने भनिएको उक्त भेलाको सम्मुखमा हुन लागेको देउवाको पुनरागमनले कांग्रेसको भावी राजनीतिलाई थप तरङ्गित बनाउने देखिएको छ ।
