काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डबाट अवैध रूपमा ल्याइएको भारी परिमाणको गाँजासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार राति उनीहरूलाई ११ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतको लुधियाना घर भएका ३० वर्षीय सोनी र २३ वर्षीय जागरुप सिंह तथा हरियाणाका २२ वर्षीय साहिल रहेका छन् ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीका अनुसार क्याथे प्यासिफिक एयरवेजको उडानमार्फत हङकङ हुँदै काठमाडौँ ओर्लिएका दुई जना भारतीय नागरिकको झोला जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरिएको थियो ।
विमानस्थलमा गाँजा भित्र्याउने दुई जनाका साथै सो अवैध लागूऔषध बुझ्न र सङ्कलन गर्न विमानस्थल परिसरमा आइपुगेका तेस्रो भारतीय नागरिकलाई समेत ब्युरोको टोलीले तत्कालै नियन्त्रणमा लिएको छ ।
थाइल्यान्डबाट काठमाडौँ हुँदै अन्यत्र लैजाने वा स्थानीय बजारमा बिक्री गर्ने उद्देश्यले गाँजा ल्याइएको हो भन्ने विषयमा पक्राउ परेकाहरूमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
