वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित थरघटीमा बिहीबार बिहान चट्याङ लागेर तीन जना घाइते भएका छन् । राष्ट्रिय वन क्षेत्रसँग जोडिएको स्थानमा बिहान करिब ७:१५ बजे चट्याङ लाग्दा उनीहरू घाइते भएको इलाका प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक हर्कबहादुर श्रेष्ठले जानकारी दिए ।
घाइते हुनेहरूमा स्थानीय दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव रहेका छन् । उनीहरू घर नजिकैको जंगल छेउमा पशु चौपाया चराइरहेका बेला अचानक चट्याङको चपेटामा परेका थिए ।
घाइतेमध्ये सूर्य महतो उराँवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको पेट र छातीमा गम्भीर चोट लागेको छ। तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पताल प्रहरी बिटले जनाएको छ ।
यसैबीच, पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै स्थानीयवासी तथा घाइतेका आफन्तले उपचारका लागि सहयोगको अपिल गरेका छन् । उनीहरूले यस्ता प्राकृतिक विपद्का घटनामा स्थानीय सरकारले विपन्न नागरिकलाई तत्काल राहत तथा उपचार खर्चमा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन् ।
