काठमाडौं । सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीमा आगलागी हुँदा एक सय १० घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट केही पशुचौपाया मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ । हिजो बेलुका ५ बजेतिर लागेको आगो राति ११ बजे मात्र निभाइएको थियो । चिमटीमा ६ वटा दमकल प्रयोग गरि स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाएका हुन् ।
चिमटी बस्तीमा पश्चिम दक्षिण क्षेत्रबाट सल्केको आगो हावाहुरीका कारण पूर्वतर्फ रहेको बस्तीमा फैलिएको थियो । क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । आज बिहानैदेखि आगलागी प्रभावित क्षेत्रमा राहत र व्यवस्थापनको काम शुरु भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।



