२३ असोज, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठको सुनसान देखिने घरभित्रबाट एउटा ठूलो रहस्य बाहिरिएको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२, भङ्गालस्थित एउटा सुनसान देखिने घरभित्र भइरहेको रहस्यमय धन्दा बिहीबार दिउँसो प्रहरी र त्यहाँ बस्ने चिनियाँ नागरिकहरूबीच भएको धक्कामुक्कापछि मात्रै पर्दाफास भएको हो ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको निवास नजिकै रहेको उक्त घरमा विदेशी नागरिकहरूको शङ्कास्पद गतिविधि भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली छापा मार्न पुगेको थियो । सादा पोसाकका प्रहरीलाई कम्पाउन्डभित्र छिर्नसमेत अवरोध गर्दै चिनियाँ नागरिकहरू जाइलागेपछिस्थिति तनावग्रस्त बनेको थियो । उनीहरूले तत्कालै बालुवाटारस्थित चिनियाँ दूतावासमा समेत खबर गरेर प्रहरीको कारबाही रोक्ने असफल प्रयास गरेका थिए ।
ठोस–तरल सुनसहित प्रशोधन सामग्री बरामद र तस्करहरूको चलखेल
एक साताभन्दा बढीको कडा निगरानी र सुराकीका आधारमा गरिएको उक्त छापामा घरभित्र करिब २० किलोग्राम ठोस तथा तरल सुन, सुन प्रशोधन गर्ने सामग्री, जोख्ने मेसिन र कालिगढहरू भेटिएका छन् ।
प्रहरी टोली पुगेलगत्तै केही तस्करहरू फरार हुन सफल भए पनि घटनास्थलमा रहेका कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको सुनको नापतौल तथा प्राविधिक परीक्षणको काम भइरहेको छ भने यस काण्डमा संलग्न अन्य नाइकेहरूको खोजी कार्यसमेत तीव्र पारिएको छ । यस विषयमा थप विस्तृत विवरण दिन प्रहरीले आज दिउँसो १ बजे विशेष पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।
भन्सार प्रणालीमाथि गम्भीर प्रश्न र बढ्दो चुनौती
भङ्गाल घटनाले नेपालको भन्सार तथा सुरक्षा प्रणालीमाथिको छिद्र र कमजोरीलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएका विभिन्न सुन तस्करीका काण्डहरू बाहिर आएपछि केही समय चिनियाँहरूको अवैध गतिविधीमा कमी आएको अनुभव गरिएको थियो ।
तर, विमानस्थलको आँखा छलेर राजधानीकै एक आवासीय क्षेत्रभित्रै सुनको भण्डारण नै गरी प्रशोधन गरिनुले राज्यका सुरक्षा संयन्त्र र भन्सार प्रणालीलाई गम्भीर चुनौती दिएको छ । यस जटिल प्रकरणले तस्करीको जालो कति गहिरोसम्म फैलिएको छ भन्ने प्रस्ट्याएको छ ।
