२४ असोज, काठमाडौँ । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँदिल्लीको जन्तरमन्तरमा प्रदर्शनको घोषणा गरेपछि भारतीय राजधानीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।
सम्भावित प्रदर्शन र असन्तोषलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले अप्सरा र बदरपुरलगायतका प्रमुख सीमा नाकाहरूमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ। विभिन्न स्थानमा कडा अवरोधक (बैरिकेड्स) राखेर सवारीसाधन तथा यात्रुहरूको सूक्ष्म जाँच भइरहेको छ ।
भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै दिल्लीका ४५ वटा मेट्रो स्टेसनहरू बन्द गरिएका छन् । दिल्ली प्रवेश गर्ने केही रेल सेवा रद्द गरिएका छन् भने केहीको मार्ग परिवर्तन गरिएको छ । प्रदर्शन प्रभावित क्षेत्र वरपर अस्थायी रूपमा इन्टरनेट सेवा समेत स्थगित गरिएको छ ।
दिल्ली प्रहरीकी उत्तरी जिल्ला उपआयुक्त निहारिका भट्टका अनुसार भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ लागू रहेकाले उक्त प्रदर्शनका लागि अनुमति दिइएको छैन । शान्ति सुरक्षा कायम राख्न तथा असामाजिक तत्त्वहरूलाई दिल्ली प्रवेश गर्नबाट रोक्न जिल्लाका प्रवेश र निकास बिन्दुहरूमा कडा निगरानी राखिएको छ ।
भारतमा हाल जारी मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियालाई लिएर उत्पन्न विवादका बिच सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै यो आन्दोलन आह्वान गरेको हो । जन्तरमन्तर र संसद् मार्ग वरपर बिहानैदेखि प्रदर्शनकारीहरूको चहलपहल बढेपछि प्रहरीले आम नागरिकलाई शान्ति व्यवस्था कायम राख्न अपिल गरेको छ ।
