२३ असोज, वीरगंज । वीरगञ्जका पूर्वमेयर विजय कुमार सरावगीलाई दिइएको साधारण सदस्यता खारेज गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला कार्यसमितिले पार्टीको केन्द्रीय कार्यालयसँग माग गरेको छ।
जिल्ला कार्यसमितिले पार्टीका महामन्त्री विपिन कुमार आचार्यलाई पत्र लेख्दै सरावगीलाई दिइएको सदस्यता तत्काल खारेज गर्न माग गरेको हो।

जिल्ला संगठन प्रमुख प्रमोद न्यौपाने र जिल्ला सचिव सुदिश प्रजापतिद्वारा हस्ताक्षरित पत्रमा जिल्ला कमिटीलाई कुनै जानकारी नै नदिई केन्द्रीय अनलाइन पोर्टलमार्फत सरावगीलाई सदस्यता जारी गरिएको भन्दै आपत्ति जनाइएको छ।
जिल्ला, पालिका तथा वडा तहका पार्टीका नेता तथा कार्यकर्ता सरावगीको पार्टी प्रवेशप्रति असन्तुष्ट रहेको पत्रमा उल्लेख छ। स्थानीय नेतृत्वलाई जानकारी नै नदिई सदस्यता वितरण गरिएको भन्दै पर्सा रास्वपा जिल्ला कार्यसमितिले उक्त सदस्यता तत्काल खारेज गर्न आग्रह गरेको हो।
नेकपा एमालेका केन्द्रीय सदस्य रहेका वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर सरावगीले हालै रास्वपाको अनलाइन पोर्टलमार्फत साधारण सदस्यता लिएका थिए।
