काठमाडौं । जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ ।
घटना हुँदा तीन महिनाकी शिशु र उनकी आमा कार्यालयभित्रै थिए, तर उनीहरूलाई कुनै चोटपटक नलागेको अधिकारीहरु बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिसहित तीन जनालाई पक्राउ गरेको छ ।
र, सर्वसाधारणका लागि कुनै थप खतरा नरहेको पनि प्रहरीले जनाएको छ । आन्तरिक मामिला मन्त्री डानिएला बेहेरेन्सले सोमबार राति पत्रकारहरूसँग कुरा गर्दै यो घटना ‘पारिवारिक कारण’ले भएको बताइन् ।
