१० असार,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ९६ करोड ७३ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
बुधबार कलैयास्थित करणराज होटलमा आयोजित उपमहानगरपालिकाको १७औँ नगरसभाको अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृतले आगामी आर्थिक वर्षको आय–व्यय विवरणसहित बजेट प्रस्तुत गरेका हुन्। सो अवसरमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
नगरसभालाई सम्बोधन गर्दै उपमहानगरपालिकाका प्रमुख विनोद साहले कृषि र पूर्वाधार विकासलाई नगरको समृद्धिको मुख्य आधार बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम तयार गरिएको बताए। उनले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनतामुखी, पारदर्शी र उत्तरदायी स्थानीय शासनमार्फत नगरवासीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
उपप्रमुख रौशन प्रविणले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले नगरको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरिन्। उनका अनुसार बजेटले आर्थिक गतिविधि विस्तार, पूर्वाधार निर्माण तथा आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
मेयर साहको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमहानगरपालिकाका २७ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि उत्पादन वृद्धि, सडक तथा भौतिक पूर्वाधार निर्माण, सेवा प्रवाहमा सुधार र स्थानीय आर्थिक विकासलाई विशेष प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
