१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।
चितवनमा जारी महाधिवेशनको तालिका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ । प्रवक्ता मनिष झाका अनुसार, उम्मेदवारहरूमाथि दाबी–विरोधका लागि साँझ ५ बजेसम्मको समय दिइएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
गत असार ७ गतेदेखि सुरु भएको महाधिवेशन ९ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि प्रक्रिया लम्बिएपछि आज मतदानको कार्यतालिका तय गरिएको हो । बिहान ९ बजेबाटै मतदान गर्ने भनिए पनि प्राविधिक तयारीका कारण केही ढिलाइ भएको थियो ।
प्रवक्ता झाका अनुसार, आज सुरु हुने मतदान प्रक्रिया ४ घण्टासम्म चल्ने र बाँकी काम दोस्रो चरणमा प्रवेश गरी भोलि बिहान ९ बजेबाट निरन्तरता दिनुपर्ने अवस्था आउन सक्ने पार्टीले जनाएको छ ।
