८ असार, निजगढ (बारा) । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले मुलुकमा संघीयताको वास्तविक मर्म स्थापित गर्न यसको पूर्ण कार्यान्वयन अपरिहार्य रहेको बताएका छन् ।
संविधानमार्फत संघीय शासन प्रणाली लागू भए पनि सङ्घीय सरकारको केन्द्रीकृत मानसिकताका कारण प्रदेश सरकारले अझै पूर्ण रूपमा अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा बाराको निजगढस्थित एक होटेलमा सञ्चालित ‘संघीयता सबलीकरणबारे समाचार लेखन’ सम्बन्धी दुई दिने कार्यशालाको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै मन्त्री पटेलले सो कुरा बताएका हुन् ।
उनले राज्यका अधिकारहरू तल्लो तहसम्म विकेन्द्रित नभएसम्म सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको आभास जनताले गर्न नपाउने जिकिर गरे ।
कार्यक्रमका मुख्य प्रशिक्षक एवं राष्ट्रिय सभाका पूर्व सदस्य डा. खिमलाल देवकोटाले संघीय शासन प्रणालीलाई सबल र जनमुखी बनाउन सञ्चार जगत्को भूमिका खम्बा जस्तै हुने उल्लेख गरे ।
संघीयताका उपलब्धि, यसले ल्याएका चुनौती र भावी आवश्यकताका विषयमा पत्रकारहरूले सतही नभई तथ्यमा आधारित खोजीनीति गरेर समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्रकुमार खड्गाले संघीयताको सफल कार्यान्वयनका लागि सञ्चार क्षेत्रले रचनात्मक पहरेदारी गर्नुपर्ने बताए । आम नागरिकमा संघीयताप्रतिको बुझाइ स्पष्ट पार्न मिडियाको योगदान महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदीले संघीयताका बहुआयामिक विषयलाई जनस्तरसम्म सरल भाषामा पुर्याउन पत्रकारहरू थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए ।
संघीयतासम्बन्धी विषयमा पत्रकारहरूको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धि गर्दै नागरिकलाई सही सूचना प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा मधेस प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका सक्रिय सञ्चारकर्मीहरूको सहभागिता थियो ।
दुई दिनसम्म चलेको उक्त कार्यशालामा डा. खिमलाल देवकोटाका साथै संविधानसभा सदस्य प्रल्हाद लामिछाने र डा. विनय मिश्रले संघीयता र मिडियाको अन्तरसम्बन्धबारे प्रशिक्षण दिएका थिए ।
