वीरगञ्ज । वीरगञ्जको मेन रोड क्षेत्रमा पर्ने सडक सीमा भित्रका बाँकी घर–भवन हटाउन आगामी आइतबारदेखि पुनः डोजर परिचालन गरिने भएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक खण्डमा २५–२५ मिटर सडक सीमा भित्र रहेका संरचना हटाउने प्रक्रिया दोस्रो चरणमा अघि बढाइने भएको हो।
यसअघि गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सोही क्षेत्रको सडक सीमामा पर्ने करिब १ हजार २०० घर तथा भवनमा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो। त्यसपछि केही घरधनीहरूले स्वेच्छिक रूपमा संरचना हटाए पनि घण्टाघरदेखि माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश संरचना अझै बाँकी रहेका छन्।
सडक विभागले यसअघि सम्बन्धित घरजग्गा धनीहरूलाई २५ दिनभित्र संरचना हटाउन आग्रह गरेको भए पनि कार्यान्वयन नभएपछि पुनः कारबाही अघि बढाउन लागेको हो। गत मंगलबार पनि सडक डिभिजन हेटौंडाले ५ दिनभित्र आफैं संरचना हटाउन सूचना जारी गरेको थियो।
यसैबीच, सडक डिभिजन हेटौंडाले शुक्रबार वीरगन्ज महानगरपालिका लाई पत्र लेख्दै डोजर सञ्चालन कार्यमा आवश्यक सहयोग गर्न अनुरोध गरेको छ। पत्रमा मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर भित्रका घर–टहरा हटाउने कार्यमा समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ।
सडक विभागले सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षण कार्य अन्तर्गत अवैध संरचना हटाउने जनाएको छ। अब आइतबारदेखि बाँकी संरचनामा पनि डोजर चलाइने भएपछि क्षेत्रभरि थप तनाव र चहलपहल बढ्ने देखिएको छ।
