वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरी चौकी मिर्जापुरबाट खटिएको नियमित गस्ती टोलीले शङ्कास्पद अवस्थामा जाँच गर्दा ३ सय ७० किलोग्राम गाँजा फेला पारेको हो ।
स्थानीय नहरको खाल्डो छेउमा लुकाई–छिपाई बेवारिसे अवस्थामा राखिएका २५ वटा प्लाष्टिकका पोकाहरूभित्र उक्त गाँजा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गस्तीमा रहेको प्रहरी टोलीले ती पोकाहरू खोलेर हेर्दा गाँजा पुष्टि भएपछि तत्काल नियन्त्रणमा लिएको थियो ।
सीमावर्ती क्षेत्र भएकाले उक्त गाँजा नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले सुरक्षित स्थानमा भण्डारण गरिएको हुनसक्ने अनुमान प्रहरीको छ । यस घटनामा संलग्न तस्करहरूको पहिचान र खोजीका लागि प्रहरीले विस्तृत रूपमा थप अनुसन्धान कार्य अघि बढाएको छ ।
