काठमाडौं । औषधि व्यवस्था विभागले तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका देशभरका ५ हजार ३ सय २ वटा औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र स्वतः खारेज गरेको छ ।
विभागले मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि नवीकरण नभएका र म्याद समाप्त भएका अनुसूची ९ बमोजिमका दर्ता प्रमाणपत्रहरू रद्द गरिएको जानकारी दिएको हो । औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधनसहित को व्यवस्थाअनुसार नवीकरण नगर्ने संस्थाहरूको कानुनी मान्यता स्वतः समाप्त भएको विभागले जनाएको छ ।
विभागले जेठ २८ गतेसम्मको अवधिमा म्याद सकिएका पसलहरूको विवरणसहितको सूची सार्वजनिक गर्दै अब उप्रान्त ती पसलहरूले कानुनी रूपमा औषधि बिक्री वितरण गर्न नपाउने स्पष्ट पारेको छ । तोकिएको समयावधिभित्र प्रक्रिया पूरा नगर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी स्वरूप यो कदम चालिएको हो ।
विभागले यस निर्णयको जानकारी सम्बन्धित व्यवसायी र सरोकारवालाहरूलाई गराउँदै कानुनी मापदण्ड नअपनाई सञ्चालनमा रहेका पसलहरूलाई तत्काल बन्द गर्न समेत निर्देशन दिएको छ ।
साथै, विभागले बाँकी रहेका अन्य औषधि पसल सञ्चालकहरूलाई समेत आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न कडा निर्देशन दिएको छ ।
जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि व्यवसायमा लापरबाही नगर्न र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न व्यवसायीहरूलाई सचेत गराइएको छ । विभागको यो निर्णयसँगै मापदण्ड पूरा नगरेका फार्मेसीहरूले अब कारोबार बन्द गर्नुपर्ने भएको छ ।
