सेढवा । पर्साको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा सहित एक मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपटिबाट सशस्त्र प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका–१ बलुवा गाउँ नजिकबाट ७५ किलो प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा र ना.१० प २२९५ नम्बरको होन्डा साइन मोटरसाइकल बरामद गरेको हो ।
बरामद गरिएको कुखुरा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले जनाएको छ।
जिराभवानी–१ का वडा अध्यक्ष रामशरण ख्वासको उपस्थितिमा कुखुरा नष्ट गरिएको हो भने मोटरसाइकललाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध रूपमा हुने कुखुरा ओसारपसार नियन्त्रण गर्न नियमित निगरानी तथा गस्तीलाई तीव्र बनाइएको जनाएको छ।
