वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । सोमबार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा उनी छतबाट लड्दा टाउको र मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते चौधरीलाई तत्काल उपचारका लागि तामागढी अस्पताल, कोल्हवी लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर बारा रेफर गरिएको थियो ।
उपचारकै क्रममा बिहान करिब ४ः४५ बजे चौधरीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले बिहान ४ः५५ बजे इलाका प्रहरी कार्यालय कोल्हवीलाई घटनाबारे जानकारी गराएका थिए ।
जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक कलम नारायण यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल तथा अस्पतालमा खटिएको थियो । मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
