काठमाडौं । गएराति पर्सा प्रहरीको गोली लागेर घाइते भएका भारतीय नागरिक बब्लु पासवानको साथबाट एउटा पेस्तोलसँगै लागुऔषध खैरो हेरोइन र गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस विज्ञप्ति जारी गरेर उनको साथबाट एउटा पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली, ४९ ग्राम खैरो हेरोइन र ८८० ग्राम गाँजा बरामद भएको जनाएको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा उनी नेपालतर्फ आउँदै गरेको सूचना पाएपछि प्रहरीले वीरगञ्ज–१६, भुटनदेवी मन्दिर अगाडि सडकमा चेकपोइन्ट राखेको थियो । त्यसक्रममा प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेल बताउँछन् । उनका अनुसार बायाँ खुट्टाको घुँडामुनि गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
