राज सरार्फ, बीरगञ्ज । बिगत केही वर्षदेखि निर्माणाधीन रहेको बीरगञ्ज महानगरपालिका १६ नगवास्थित बृद्धआश्रमको उद्घाटन समारोह सम्पन्न भएको छ। बृद्ध आमाबुबाको सेवा तथा समयको चक्रअनुसार समाजमा बृद्धआश्रमको आवश्यकता बढ्दै गएको महसुस गर्दै उक्त आश्रम सञ्चालनमा ल्याइएको आयोजकले बताएका छन्।
मधेश प्रदेशका प्रथम तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै उनले आधुनिक जीवनशैलीका कारण परिवारका सदस्यहरू, विशेषगरी छोराछोरी र बुहारीहरूलाई घरका बृद्ध आमाबुबाको नियमित हेरचाह गर्न समय अभाव हुन थालेको बताए। यही परिस्थितिले बृद्धआश्रमको आवश्यकता झनै बढाएको उनको भनाइ थियो।
पूर्वमुख्यमन्त्री राउतले आफू मुख्यमन्त्री रहँदा प्रदेशमा कम्तीमा तीन स्थान—बीरगञ्ज, जनकपुर र राजविराजमा बृद्धआश्रम स्थापना गर्ने सोच बनाएको स्मरण गर्दै समयले साथ नदिँदा योजना पूरा हुन नसकेको बताए।
उनले आगामी दिनमा पनि बृद्धआश्रमको विकास र व्यवस्थापनका लागि आफूबाट हुने आवश्यक सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे।
समारोहका विशिष्ट अतिथि तथा बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले बृद्धआश्रममा अझै निर्माण हुन बाँकी रहेका भौतिक संरचना पूरा गर्न तथा सवारी साधनको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताए। वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने उनको भनाइ थियो।
बृद्धआश्रमका अध्यक्ष नन्दलाल राउत अहिरले आश्रम सञ्चालनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगी हातहरूलाई साथ दिन आग्रह गरे। उनले बृद्धआश्रममा आश्रय लिएका आमाबुबाको सेवा र व्यवस्थापनका लागि आर्थिक तथा भौतिक सहयोगको खाँचो रहेको बताए।
उक्त कार्यक्रममा बीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जन, विश्रामपुर गाउँपालिका–२ का वडा अध्यक्ष मनोज यादव, स्थानीय समाजसेवी, सञ्चारकर्मी, बृद्धआश्रमका सदस्यहरू तथा आश्रममा आश्रय लिइरहेका बृद्ध आमाबुबाको समेत उल्लेखनीय सहभागिता रहेको थियो
