वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले आफ्नो आपूर्ति प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउन ११ केभी फिडरहरूमा ‘लोड ब्रेक स्वीच’ जडान कार्य सुरु गर्ने भएको छ । जडान कार्यका लागि वीरगञ्जका विभिन्न क्षेत्रमा आज शनिबार विद्युत आपूर्ति आंशिक रूपमा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणद्वारा जारी सूचना अनुसार ११ केभी फिडर अन्तर्गतका वीरगञ्ज १, २ र ५ नम्बर फिडरहरूमा स्वीच जडान गर्नका लागि बिहान १ देखि २ घण्टा लाइन अनियमित (बन्द) हुनेछ ।
यसैगरी, वीरगञ्ज ४ नम्बर फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा भने मध्यान्ह १२:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म (करिब ४ घण्टा) विद्युत आपूर्ति प्रभावित हुने केन्द्रले जनाएको छ ।
प्राधिकरणका अनुसार तोकिएको समयभन्दा अगावै प्राविधिक कार्य सम्पन्न भएमा लाइन तत्कालै सुचारु गरिनेछ । मर्मत सम्भार तथा उपकरण जडान कार्यका कारण ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति वीरगञ्ज वितरण केन्द्रले क्षमाप्रार्थी रहेको जनाएको छ ।

