रौतहट । रौतहटको पूर्वी भेगमा पर्ने गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा अज्ञात सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
तीव्र गतिमा गुडेको तर नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा गम्भीर दुर्घटना भएको हो । मृतक पुरुषको पहिचान हालसम्म खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शङ्कर प्रसाद आचार्यका अनुसार अज्ञात सवारी साधनको भीषण ठक्करका कारण साइकल यात्रीको टाउकोमा गम्भीर चोट लागेको थियो । अत्यधिक रक्तश्रावका कारण उनको घटनास्थलमै ज्यान गएको हो। घटना आइतबार राति वा सोमबार विहानै कुन समयमा भएको हो भन्नेबारे यकिन हुन सकेको छैन ।
आज सोमबार बिहान करिब ६ बजे सडक किनारमा एक पुरुषको शव लडिरहेको स्थानीयवासीले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ डीएसपी आचार्यको कमाण्डमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान र शवको प्रकृति हेर्दा मृतक पुरुषको उमेर अन्दाजी ४० देखि ४५ वर्षको बिचमा हुन सक्ने अनुमान गरिएको छ ।
शव सडक छेउको नाली नजिकै लडिरहेको अवस्थामा फेला परेको थियो भने मृतकको बायाँ खुट्टा अझै पनि साइकलको फ्रेम (भाग) मा अड्किएकै अवस्थामा फेला परेकाले गुडिरहेको अवस्थामा पछाडि वा अगाडिबाट जोडले ठक्कर दिएको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरी टोलीले कानुनी प्रक्रियाअनुसार घटनास्थलको मुचुल्का उठाई आवश्यक भौतिक प्रमाणहरू सङ्कलन गरिसकेको छ ।
डीएसपी आचार्यले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘सडक खण्ड र आसपासका क्षेत्रका प्रमाणहरू सङ्कलन भइरहेका छन् । आज बेलुकीसम्म घटनाको वास्तविक कारण र ठक्कर दिने सवारीको पहिचान पत्ता लगाएर सार्वजनिक गर्ने तयारीमा छौँ।’
प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टम (शवपरीक्षण) का लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । यसका साथै मृतकको सनाखत (पहिचान) खुलाउन आसपासका गाउँ र क्षेत्रहरूमा हुलियासहित सोधपुछ तथा प्राविधिक अनुसन्धान जारी राखिएको छ ।
प्रहरीले मृतकको हुलिया मिल्ने कोही व्यक्ति हराएको भए वा घटनाबारे कुनै पनि जानकारी, सीसीटीभी फुटेज वा प्रत्यक्षदर्शी भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय गरुडामा सम्पर्क गरी सहयोग गर्न सर्वसाधारणलाई अपील गरेको छ ।
