महोत्तरी । विशेष अदालतले भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले मङ्गलबार कुशवाहालाई कैदसँगै ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ ९ख० बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट योजना सम्झौता र भुक्तानीका क्रममा घुस तथा कमिसनबापत उक्त रकम असुल गरेको अदालतको छानबिनबाट पुष्टि भएको छ ।
रकम लेनदेनको विषयमा प्रतिवादी स्वयम्ले समेत विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको मुख्य बिगो कायम गरेको जनाएको छ ।
अदालतको फैसला र अभियोग पत्र अनुसार सांसद सिंहले उपभोक्ता समितिको खातामा जम्मा भएको सरकारी बजेटलाई दुरुपयोग गरेका थिए । उनले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत उपभोक्ता समितिको खाताबाट रकम झिक्न लगाएका थिए ।
झिकिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सिंहले आफ्नो र आफ्नी श्रीमतीको नाममा रहेको बैंकको संयुक्त खातामा जम्मा गरी व्यक्तिगत रूपमा हिनामिना गरेको प्रमाण फेला परेको थियो ।
विशेष अदालतले कसुरको गम्भीरतालाई हेर्दै ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ को आकर्षित व्यवस्था बमोजिम सिंहबाट थप १ लाख ५४ हजार पाँच रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क समेत असुल गर्न आदेश दिएको छ । यो रकम सरकारी ‘पीडित राहत कोष’ मा जम्मा गरिनेछ ।
यसका साथै, सिंहले अवैध रूपमा कमाएको र बैंक खातामा राखेको घुस बापतको मुख्य ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न समेत इजलासले स्पष्ट निर्देशन दिएको छ ।
लामो समयको अनुसन्धान र कानुनी बहसपछि विशेष अदालतले भ्रष्टाचारको कसुर पूर्ण रूपमा प्रमाणित भएको निष्कर्ष निकाल्दै सिंहलाई कैद, जरिवाना, बिगो जफत र क्षतिपूर्तिको बहुआयामिक सजाय सुनाएको हो ।
