वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ६ अन्तर्गत त्रिभुवन स्कूल नजिक निर्माणाधीन एक घरको टप (छत) खस्दा एक महिला कामदारको ज्यान गएको घटनाले वीरगंजमा भइरहेको घर निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीयका अनुसार ओमप्रकाश लोहियाको निर्माणाधीन घरमा अचानक टप खस्दा त्यहाँ काम गरिरहेकी एक महिला कामदार च्यापिएकी थिइन्। घटनापछि उनको मृत्यु भएको बताइएको छ। घटनाले आसपास क्षेत्र नै स्तब्ध बनेको छ भने स्थानीयवासी आक्रोशित देखिएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार निर्माण भइरहेको भवनमा आवश्यक सुरक्षा मापदण्ड अपनाइएको थिएन। अझ गम्भीर कुरा त के भने, अहिले गाउँघरमा सामान्य गोठ निर्माण गर्दा समेत फलामको मजबुत कलम प्रयोग गरिने अवस्थामा वीरगंजजस्तो व्यावसायिक शहरमा बहुमूल्य भवन निर्माण गर्दा लागत घटाउने र बढी नाफा कमाउने उद्देश्यले कमसल निर्माण सामग्री प्रयोग गरिएको आशंका गरिएको छ।
स्थानीयवासीको भनाइ अनुसार वीरगंजको मुख्य सडक विस्तारपछि व्यवसायीहरूलाई छिटो भवन उपलब्ध गराउने हतारमा गुणस्तरभन्दा कमाइलाई प्राथमिकता दिइएको देखिन्छ। यदि यही भवन पूर्णरूपमा सञ्चालनमा आएको अवस्थामा यस्तो दुर्घटना भएको भए ठूलो मानवीय क्षति हुन सक्ने स्थानीयको चिन्ता छ।
घटनाबारे बुझ्न घरधनी ओमप्रकाश लोहियालाई सम्पर्क गर्दा उनको मोबाइल फोन बन्द रहेको पाइएको छ। त्यस्तै निर्माण कार्यको जिम्मा लिएका भनिएका ठेकेदार विनोद यादव, जसको नाम ट्रुकलरमा देखिएको बताइएको छ, उनको मोबाइल पनि स्विच अफ रहेको स्थानीयले बताएका छन्।
घटनापछि घरधनी र ठेकेदार दुवै सम्पर्कविहीन हुनु आफैंमा शंकास्पद रहेको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्। घटनास्थलमा वडा नं. ६ का वडा अध्यक्ष पुगे पनि उनले घटनाबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिन मानेनन्। यसले झन् धेरै प्रश्न जन्माएको स्थानीयको भनाइ छ।
वीरगंजमा पछिल्लो समय तीव्र गतिमा भइरहेको अव्यवस्थित र गुणस्तरहीन निर्माण कार्यप्रति सम्बन्धित निकाय गम्भीर नबने यस्ता दुर्घटना दोहोरिन सक्ने स्थानीयहरु चिन्ता व्यक्त गरेका छ।



