बारा । सार्वजनिक जमिन र सीमा विवादको विषयलाई लिएर बाराका दुई छिमेकी स्थानीय तहका नगर प्रहरीहरू बीच सडकमै मुठभेड (झडप) भएको छ । कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूबीच मङ्गलबार साँझ सिस्वा–महेशपुर क्षेत्रमा झडप भएको हो ।
संघीय सरकारको बजेटमा निर्माणाधीन एक आयोजनाको सीमालाई लिएर दुवै पक्षका सुरक्षाकर्मीबीच भनाभन हुँदै झडपमा परिणत हुँदा दुवैतर्फका गरी ६ जना नगर प्रहरी घाइते भएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर–२६ स्थित सिस्वा–महेशपुरमा रहेको छठिया पोखरी नजिक संघीय सरकारको खानेपानी आयोजनाको कम्पाउन्ड ९पर्खाल० विस्तार गर्ने क्रममा विवाद भएको हो ।
कलैया उपमहानगरपालिकाले आफ्नो क्षेत्र दाबी गर्दै निर्माण अघि बढाएपछि महागढीमाई नगरपालिकाको नगर प्रहरी टोली ‘यो हाम्रो सीमाभित्र पर्छ’ भन्दै निर्माणस्थल पुगेको थियो । महागढीमाईको टोलीले निर्माणाधीन संरचनाको पिलरको बिम र रड तोडफोड गर्न खोजेपछि दुवै पक्षबीच सुरुमा भनाभन भएको र हेर्दाहेर्दै उक्त विवाद उग्र रूप लिँदै झडपमा परिणत भएको थियो । दुई स्थानीय सरकारका बर्दीधारी रक्षकहरू नै एकआपसमा जाइलागेपछि केही समय सो क्षेत्र रणमैदान जस्तै बनेको थियो ।
कलैया उपमहानगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख भुलन साहका अनुसार महागढीमाईका नगर प्रहरीको आक्रमणबाट कलैयातर्फका ५ जना नगर प्रहरी घाइते भएका छन् । झडपमा परी लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका हुन् । उनीहरू सबैलाई उद्धार गरी वीरगञ्जस्थित बयोधा अस्पतालमा भर्ना गरिएको र उपचार जारी रहेको प्रमुख साहले जानकारी दिए ।
उता महागढीमाई नगरपालिकाका नगर प्रहरी इन्चार्ज अनिल लहेराले भने कलैयाको टोलीले सुरुमा बल प्रयोग गरेको दाबी गरेका छन् । लहेराका अनुसार झडपमा आफ्नोतर्फका नगर प्रहरी धर्मराज यादव गम्भीर घाइते भएका छन् । टाउको र शरीरमा चोट लागेका यादवको वीरगञ्जकै एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
कलैया र महागढीमाई नगरपालिकाको सिमानामा पर्ने छठिया पोखरी क्षेत्रको जमिन लामो समयदेखि विवादित रहँदै आएको छ । दुवै स्थानीय तहले सो क्षेत्रको जमिन आफ्नो नक्सा र क्षेत्राधिकारभित्र पर्ने दाबी गर्दै आए पनि हालसम्म प्राविधिक नापी गरेर सीमा सच्याउने वा विवाद सल्टाउने ठोस प्रयास दुवै नेतृत्वबाट हुन सकेको थिएन ।
दुई नगरपालिकाबीचको कूटनीतिक र प्रशासनिक संवादहीनताका कारण अन्ततः तल्लो तहका कर्मचारी र नगर प्रहरीहरू सडकमै रक्ताम्मे हुने गरी भिड्नुपरेको भन्दै स्थानीय बासिन्दाले दुवै स्थानीय सरकारको अदूरदर्शी कार्यशैलीको आलोचना गरेका छन् । घटनापछि सो क्षेत्रमा थप तनाव हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उच्च सतर्कता अपनाएको छ ।



