वीरगञ्ज । मित्रराष्ट्र भारतको बिहार राज्यको सिमावर्ती रक्सौल शहरको मुख्य सडकस्थित ऐतिहासिक सूर्य मन्दिर परिसरमा आस्था र भक्तिको ठूलो केन्द्र बनेको छ। मन्दिरको पोखरीमा भइरहेको जीर्णोद्धार तथा सरसफाइका क्रममा एउटा प्राचीन शिवलिङ्ग फेला परेको सुर्य मन्दिर समितिका सदस्य एवं मिडिया प्रवक्ता समाजसेवी रजनिश प्रीयदर्शिले बताए हुन ।
शिवलिङ्ग भेटिएको खबर फैलिनासाथ मन्दिर परिसरमा “हर हर महादेव” र “जय जय शिव शंकर” को जयघोषले गुन्जिएको थियो। मन्दिर समितिका सदस्य तथा श्रद्धालुहरूले अत्यन्त श्रद्धापूर्वक शिवलिङ्गलाई काँधमा बोकेर मन्दिर परिसरसम्म ल्याएका थिए।
त्यसपछि विधिपूर्वक पूजा–अर्चना सुरु गरिएको थियो। दर्शन तथा पूजाका लागि श्रद्धालुहरूको लगातार भीड लागिरहेको छ। मन्दिर परिसरमा श्रद्धा, भक्ति, आस्था र उत्साहको अद्भुत माहोल देखिएको थियो ।
उल्लेखनीय कुरा के छ भने, गत हप्ता यही सूर्य मन्दिरको पोखरी सफाइ गर्ने क्रममा करिब ११ किलो तौलको दुर्लभ कछुवा पनि फेला परेको थियो । उक्त कछुवा हेर्न ठूलो संख्यामा मानिसहरूभिड पुगेका थिए। धेरै श्रद्धालुले त्यसलाई भगवान विष्णुको कूर्म अवतारसँग जोडेर आस्था व्यक्त गरिरहेका छन्। यस्तो अवस्थामा एक हप्ताभित्रै शिवलिङ्ग फेला पर्नुले श्रद्धालुहरूको भावना अझ गहिरो बनेको छ।
मन्दिरका मुख्य पुजारी पण्डित आमोद मिश्रले सूर्य मन्दिर परिसर सदियौँदेखि श्रद्धा र आध्यात्मिक ऊर्जाको केन्द्र रहँदै आएको बताए। शिवलिङ्ग फेला पर्नु यस स्थानको दिव्यता र धार्मिक महत्वको प्रतीक भएको उनको भनाइ थियो।
त्यसैगरी मन्दिर समितिका सचिव शम्भु प्रसाद चौरसिया तथा मिडिया प्रभारी रजनीश प्रियदर्शीले संयुक्त रूपमा एक हप्ताभित्र दुर्लभ कछुवा र अहिले शिवलिङ्ग फेला पर्नु सामान्य घटना नभएको बताएका छन्। उनीहरूका अनुसार यो स्थल भगवान शिव र भगवान विष्णुको विशेष कृपाले भरिएको आस्थाको केन्द्र बन्दै गएको छ।
यस अवसरमा समितिका सदस्य गणेश अग्रवाल, राजु गुप्ता, अरुण कुमार गुप्ता, पप्पु गिरि,लगायत ठूलो संख्यामा श्रद्धालुहरू को उपस्थिति रहेको जानकारी समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले दिएका हुन्।



