रौतहट । रौतहटका विभिन्न वन क्षेत्रमा पाटेबाघको उपस्थिति देखिएसँगै यसको संरक्षण र मानव–बाघ द्वन्द्व न्यूनीकरणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
डिभिजन वन कार्यालय रौतहतले आइतबार चन्द्रनिगाहपुरमा सञ्चारकर्मीका लागि आयोजना गरेको सचेतनामूलक कार्यक्रममा कार्यालय प्रमुख हेमन्तप्रसाद साहले बाघ संरक्षणमा जनचेतना सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए ।
उनका अनुसार बाघ बसोबास गर्ने क्षेत्र जैविक विविधताले भरिपूर्ण र स्वस्थ जंगलका सूचक मानिन्छन् । “बाघ प्रकृतिको सन्तुलन कायम गर्ने महत्वपूर्ण वन्यजन्तु हो,” उनले भने, “यसप्रति नकारात्मक धारणा राख्नु वा हानी पुर्याउने काम गर्नु हुँदैन।”
डिभिजन वन कार्यालयका अनुसार रौतहटका लमाहा नदी आसपासका वन क्षेत्र, धन्सार, हातेमालो सामुदायिक वन, रङ्गपुर साझेदारी वनअन्तर्गत सतियारी क्षेत्र, गैँडाटार, जुडिबेला, पौराइ, रामलाल वृन्दावन साझेदारी वन तथा फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको आवतजावत र बसोबास देखिएको छ ।
हाल जिल्लामा बाघको यकिन सङ्ख्या सार्वजनिक नभए पनि गणनाको काम जारी रहेको कार्यालयले जनाएको छ । नेपालभर हाल ३५५ वटा बाघ रहेको तथ्यांक प्रस्तुत गर्दै साहले रौतहटमा समेत विस्तृत अध्ययनपछि वास्तविक संख्या सार्वजनिक गरिने जानकारी दिए ।
उनले बाघको स्वभाव, आहारा र आक्रमण शैलीबारे जानकारी दिँदै बाघ सामान्यतया मानिसबाट टाढा रहन चाहने जनावर भएको स्पष्ट पारे । “आत्मरक्षा वा बच्चाको सुरक्षामा खतरा महसुस गरे मात्रै बाघ आक्रामक बन्न सक्छ,” उनले बताए ।
वन कार्यालयका अनुसार बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल र बाह्रसिङ्गेलगायत वन्यजन्तुलाई आहाराका रूपमा प्रयोग गर्छ । रौतहटमा पछिल्ला वर्षहरूमा बाघसँग सम्बन्धित केही मानवीय क्षतिका घटना पनि भएका छन् । विसं २०७७ असोजमा चन्द्रपुर नगरपालिका–६ का सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो भने उनलाई खोज्न गएका दुई जना घाइते भएका थिए ।
त्यसैगरी, २०७८ असोजमा लमाहा जंगलमा घाँस काट्न गएका यज्ञबहादुर रायमाझी बाघको आक्रमणबाट घाइते भएका थिए । पछिल्लो समय २०८१ मङ्सिरमा गुजरा नगरपालिका–१ मा वडाध्यक्ष रामजित चौधरीसहित दुई जना बाघको आक्रमणमा परेका थिए । कार्यक्रममा सहभागीहरूले वन्यजन्तु संरक्षणसँगै स्थानीय बासिन्दाको सुरक्षालाई पनि प्राथमिकतामा राखेर दीर्घकालीन योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।



